काठमाडौं । ताइवानका राष्ट्रपति लाइ चिङको बधाई सन्देशमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रतिक्रियाप्रति चीनले विरोध गरेको छ । भारतले एक चीन नीतिका विरुद्ध ताइवानलाई सम्बोधन गरेको भन्दै चीनले विरोध जनाएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीनियाँ समाचार एजेन्सी ग्लोबल टाइम्सलाई भने, ‘ताइवानका नेतालाई प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रतिक्रियाप्रति चीनले आपत्ति जनाएको छ। चीनसँग कूटनीतिक सम्बन्ध राख्ने सबै देशका नेताहरूले ताइवानका नेताको प्रतिक्रियाप्रति चिन्ता व्यक्त गरेका छन् । चीनले ताइवानका नेताहरूसँगको आधिकारिक वार्ताको विरोध गर्दछ ।’ उनले भनेका छन्, ‘विश्वमा एउटा मात्र चीन छ । भारतले एक चीन सिद्धान्तका सम्बन्धमा गम्भीर राजनीतिक प्रतिबद्धता देखाएको छ । ताइवान अधिकारीहरूको राजनीतिक योजनाहरूप्रति सजग रहनुपर्छ र एक चीन सिद्धान्तलाई उल्लङ्घन गर्ने कुनै पनि कार्यबाट अलग रहनुपर्छ ।’


