एजेन्सी । पेरूका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी सन् २०२६ मा हुने दक्षिण अमेरिकी मुलुकको निर्वाचनमा सहभागी हुने भएको छ ।
फुजिमोरीकी छोरी दक्षिण अमेरिकी प्रमुख दक्षिणपन्थी पार्टीका नेता केइको फुजिमोरीले सो घोषणा गरेकी हुन् । उनले भनिन्, ‘मेरो बुबा र मैले कुराकानी गरेका छौं र उहाँले राष्ट्रपतिपदको उम्मेदवार बन्ने निर्णय गर्नुभएको छ ।’
सन् १९९० देखि सन् २००० सम्म पेरूका राष्ट्रपति बनेका ८५ वर्षीय फुजिमोरीले पेरूको माओवादी छापामार समूह शाइनिङ पाथलाई पराजित गर्न सैन्य अभियानको नेतृत्व गर्दै कडा शासन गरेका थिए । उनले विद्रोहीहरूलाई दबाएर नवउदारवादी नीतिमार्फत आर्थिक वृद्धिलाई गति दिएको नेताका रूपमा निकटस्थ समूहले उनलाई स्मरण गर्ने गरेको छ ।
तर पेरूको शाइनिङ पाथलगायतका कतिपय बामपन्थी दलले उनलाई निर्दयी, अधिनायकवादी शासन शैली अपनाएको एक भूतपूर्व राष्ट्रपतिका रूपमा उनको आलोचना गर्ने गरेको छ ।
सन् १९९१ र सन् १९९२ मा सेनाको डेथ स्क्वाडले गरेको नरसंहारको आरोपमा उनलाई सन् २००९ मा जेल सजाय भएको थियो ।शाइनिङ पाथविरूद्धको अभियानका क्रममा उनी नेतृत्व रहेको समयमा एक बच्चासहित २५ जना मारिएका कारण उनीलगायत केही अधिकारीलाई फरक-फरक जेल सजाय भएको थियो ।


