काठमाडौं । कान्तिपुर मीडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेको छ । जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उक्त निर्णयविरुद्ध सिरोहियाले रिट निवेदन पेश गरेको र सो निवेदन दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालतका सह प्रवक्ता गोविन्द घिमिरेले बताए ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । उक्त नागरिकता प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । प्रहरीको अनुरोधपछि जिल्ला अदालतले पुर्जी जारी गरेपछि त्यसलाई रोक्न उनीले सर्वोच्चमा रिट दायर गरेको हो ।
सर्वोच्चमा रिट दायर गरि कारण देखाऊ आदेश समेत गरेको अवस्थामा पक्राउ पुर्जी जारी हुनुपर्ने कारण नै नभएको दाबी रिटमा गरिएको छ। रिटमा उक्त पक्राउ पुर्जी असंवैधानिक भएकाले अन्तरिम आदेश मार्फत रोकिनुपर्ने माग गरिएको छ। रिटको पेशी वुधबारका लागि तोकिएको छ ।
नागरिकता छानबिनका लागि आफू तयार नै रहेको तर अहिले आफू संलग्न सञ्चार माध्यम र प्रेस स्वतन्त्रतालाई चुनौती दिन यस्तो गरिएको उनले दाबी गरेको छ ।

