काठमाडौं । गत साताको तुलनामा यो साता सेयर बजारमा उत्साहजनक वृद्धि भएको छ । ४ दिन मात्रै कारोबार भएको नेप्से परिसूचकमा ११२.७७ अङ्कको वृद्धि आएको हो । यो साता आइतबारदेखि बुधवारसम्म मात्रै कारोबार भयो । यो साढे ५ प्रतिशतको वृद्धि हो ।

आइतबारदेखि नै उत्साहजनक वृद्धि आउँदा नेप्से परिसूचक साताभरमा २१३१ अंकमा पुगेर रोकिएको छ । गत साताको परिसूचक २०१८ अंकमा पुगेर रोकिएको थियो । त्यसयता निरन्तर उकालो लागेको नेप्से परिसूचक १०० अङ्कभन्दा बढीको हो । आइतबार ४५.६९ अंकले बढेको नेप्से सोमबार २७.५४ अंकले बढ्यो । मङ्गलवार २३.९४ अंकले बढ्दा बुधवार १५.५४ अङ्कले बढ्यो । यो एक सातामै आएको उच्च अङ्कको वृद्धि हुन् । सबै दिन उच्च अङ्कले वृद्धि हुँदा कारोबार रकम समेत ५ अर्ब रुपैयाँ भन्दा माथि रहेको थियो ।

आइतबार ५ अर्ब २० करोड र सोमबार ५ अर्ब ८३ करोडको कारोबार भएको नेप्सेले जनाएको छ । त्यसैगरी मंगलबार ५ अर्ब १६ करोड र बुधवार ५ अर्ब ६६ करोडको कारोबार भएको थियो । समग्रमा यो साता नेप्सेमा २१ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । गत साताको ५ दिनमा १५ अर्ब ५० करोड रुपैयाँभन्दा बढी कारोबार भएको थियो । यो साता ४ दिन मात्रै कारोबार हुँदा पनि गत साताको तुलनामा ४ अर्बभन्दा बढीको कारोबार हुन पुग्यो । नेप्से परिसूचक ११२ अङ्कभन्दा बढीले बढेसँगै पुँजीकरण समेत बढेको छ । गत साता ३२ खर्ब १ अर्ब रुपैयाँ रहेको नेप्से पुँजीकरण ५ प्रतिशतले बढेर ३३ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । यो १ खर्ब ७७ अर्ब रुपैयाँभन्दा माथिको वृद्धि हो ।

 

ब्रोकर कमिसन घटाउन सरकारले गरेको सकारात्मक पहलले बजार बढाउन सहयोग पुगेको जानकारहरूले बताए ।