काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले केन्द्रीय सदस्य एवं गायक बालचन्द्र बराललाई ६ महिनाका लागि संस्थाबाट निलम्बन गरेको छ । लोक संस्कृतिको मूल मर्म र भावना विपरीत कार्य गरेको भन्दै बिहीबार बसेको कार्यसमिति बैठकले बराललाई निलम्बन गरेको अध्यक्ष रीता थापा मगरले बताएको हो ।

अध्यक्ष थापाले भनिन्, ‘उहाँको गायन प्रस्तुतिमा समाजमा अपाच्य हुने गतिविधि देखियो । दोहोरीलाई बंग्याउदै मूल संस्कृति नै बिगार्ने गरी उहाँ प्रस्तुत भएको देखियो, यसबारे उहाँलाई स्पष्टीकरण सोधेका थियौं । बोलाउँदा पनि सम्पर्कमा आउनुभएन र स्पष्टीकरणको बेवास्ता गरेपछि यस्तो निर्णय गर्नुपरेको हो ।’

प्रतिष्ठानका अध्यक्षसहित पदाधिकारीहरुले बिहीबार अपरान्ह गृह मन्त्रालयमा पुगेर समाजमा अपाच्य हुने खालका गतिविधिमा रोक लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएका छ । लाइभ दोहोरीका नाममा बराल अमर्यादित ढंगले प्रस्तुत भएको कारबाही गर्न बाध्य भएको प्रतिष्ठानको भनाई रहेको छ । निलम्बन अवधिभर प्रतिष्ठानसँग सम्बन्धित जिल्ला, प्रदेश, केन्द्रसहितका सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा बराल सहभागिता जनाउन पाउने छैनन् । अर्मादित ढंगले पेश हुने अन्य कलाकारलाई पनि यसरी सचेत गराइएको अध्यक्ष थापाले बताइन् ।

प्रतिष्ठानले गत साता विज्ञप्तिमार्फत लाइभ दोहोरीको नाममा छाडा रुपमा प्रस्तुत नहुन सचेत गरेको थियो ।