काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता सकिएको छ । तीन नेताबिच बिहान सवा दश बजेदेखि दिउँसो सवा १ बजेसम्म छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब ३ घण्टा भएको शीर्ष तीन नेताबिचको छलफलमा मुलुकका राष्ट्रिय मुद्दाका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन नेताका बिचमा खासगरी संसद्लाई के कस्ता बिजनेस दिने र संसद्लाई प्रभावकारी बनाउने भन्ने विषयमै छलफल केन्द्रित भएको बताए । सल्लाहकार आचार्यका अनुसार सदनलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने उपायका साथै सहकारी  छानबिन समिति गठन भैसकेपछिको अवस्थाबारे छलफल भएको छ ।

तीन नेताको भेटपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच पनि केहीबेर छुट्टै छलफल समेत भएको छ । प्रचण्ड र ओलीबिचको छलफलमा सरकार सञ्चालन, प्रदेश सरकार गठन लगायतका विषयमा छलफल भएको बताइएको छ ।

सहकारीको रकम हिनामिना र अपचलनबारे संसदीय छानबिन समिति गठन भएपछि तीन दलका शीर्ष नेताबिच भेटवार्ता भएको हो ।