काठमाडौं । काठमाडौंबाट चोरीमा संलग्न तीन जनाको समूहलाई चोरीका सामान र ताला फोर्न प्रयोग हुने औजारसहित पक्राउ परेका छन्।

प्रहरी वृत्त स्वयम्भुको टोलीले तारकेश्वर नगरपालिका-७ टोखा घर भई हाल चमति बस्ने १९ वर्षीय अभय नेपाली, ओखलढुङ्गाको लिखु गाउँपालिका-७ घर भई हाल विजेश्वरी बस्ने २४ वर्षीय निरज खड्का र काभ्रे मङ्गलटार घर भई हाल चमती बस्ने २० वर्षीय सुरेन्द्र तामाङलाई नियन्त्रणमा लिएको हो ।

यही साउन ७ गते दिउँसो काठमाडौं महानगरपालिका-१५ चमती स्थित मिलन लम्सालको कोठाको ताला फोडी कोठाभित्र रहेका सुनका गर गहना, नगद, घडी, ल्यापटप लगायतका धनमाल चोरी भएको थियो । उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा घटनामा संलग्न उनीहरूलाई क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट ताला फोर्न प्रयोग हुने फलामको रड तथा औजार लगायत चोरीका धनमाल बरामद भएको छ ।