काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

अहिले बागमती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको हो ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राती पनि देशभर आंशिक देखि साधरणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाका दैनिक मौसमी बुलेटिनमा उल्लेख गरेको छ ।

त्यसैगरी, जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उपत्यकासहित विभिन्न ठाउँमा बाढीको जोखिम रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ ।