एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग गाजा युद्धबारे छलफल गर्न प्यालेस्टिनी सरकारका राष्ट्रपति महमुद अब्बासले आगामी साता मस्को भ्रमण गर्ने भएको छ ।

रुसको सरकारी समाचार समिति तासले मस्कोमा रहेका प्यालेस्टिनी राजदूतलाई उद्धृत गर्दै अब्बास सोमबार मस्को आइपुग्ने र मंगलबार पुटिनलाई भेट्ने जनाएको छ ।

राजदूत अब्देल हाफिज नोफलले बताए अनुसार दुई नेताले अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा भएका घटनाबारे छलफल गर्नेछन् । ‘हामी जटिल अवस्था भोगिरहेका छौँ र रुस हाम्रो नजिकको देश हो । हामीलाई एकअर्काको परामर्श आवश्यक छ,’ राजदूत अब्देलले बताए ।

मस्कोले वर्षौँसम्म इजरायल र प्यालेस्टाइनसहित मध्यपूर्वका सबै प्रमुख मुलुकसँग सन्तुलन सम्बन्ध कायम राख्ने प्रयास गरिरहेको छ । तर, इजरायल-हमास युद्ध सुरु भएपछि र युक्रेनमाथि रुसको आफ्नै युद्धपछि पुटिन इजरायलको प्रतिद्वन्द्वी हमास र इरानको निकट भएका छन् ।