काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको नाफा दोब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा ११ करोड २० लाख रुपैयाँ नाफा कमाएको कम्पनीले पछिल्लो वर्ष २२ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा तुलनात्मक रुपमा कम्पनीले ९९.३९ प्रतिशतले नाफा वृद्धि गरेको हो । कम्पनीको सञ्चालन नाफा बढेर १ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ९१ करोड ३४ लाख रहेको यस्तो आम्दानी बढेको र यता वित्तीय खर्च घटेकाले पनि कम्पनीको नाफामा सुधार आएको हो ।
कम्पनीका अनुसार अघिल्लो वर्ष २८ करोड ५० लाख रुपैयाँ बराबर रहेको वित्तीय खर्च यो वर्ष घटेर २३ करोड १७ लाख काय भएको छ । यस्तै समीक्षा अवधिमा कम्पनीले अन्य आम्दानीबाट १ करोड १ लाख रुपैयाँ समेत कमाएको जनाएको छ ।
२०८१ असार मसान्तसम्म चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष७ करोड ६ लाख ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४.५६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ९५.३९ रुपैयाँ रहेको छ ।