काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ भने देशभर मनसुनी वायुको प्रभावसंगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

 

अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखी साधरणतया बदली भई एक-दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भाग सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो  देशभर आंशिक देखि साधरणतया बदली रहने छ।  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागको थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

त्यस्तै राती पनि  देशभर आंशिक देखि साधरणतया बदली रहने छ।  कोशी प्रदेशको केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।