काठमाडौं । आजदेखि सर्वसाधारणका धरहरा खुला गरिएको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै बनेको धरहरा संविधान दिवसको दिनदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।
खुला गरिने भएता पनि धरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन । धरहराको संरचना निर्माण अहिलेसम्म ९८ प्रतिशत मात्रै पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ । परीक्षणका लागि बुधबार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो । धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएको हो ।
२०७८ साल वैशाख ११ मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो । तर, पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन । उद्घाटनको समयमा ४२ प्रतिशतमात्रै निर्माण कार्य पूरा भएको थियो ।
सरकारले अर्को व्यवस्था नगर्दासम्म केही समय निःशुल्क धरहरा चढ्न सकिने जनाएको छ । रंगरोगन र शृङ्गारका केही कामहरू बाँकी रहे पनि यसले खास समस्या नपर्ने बताइएको छ ।