जेरुसेलम । लेबनानमा हिजबुल्लाह समूहका प्रमुख हसन नसरल्लाहको मृत्युलाई इजरायलले ऐतिहासिक उपलब्धि भएको प्रतिक्रिया दिएको छ । राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नसरल्लाहको हत्यालाई ‘टर्निङ पोइन्ट’ को संज्ञा दिएको छ ।
उनले आफ्नो देशले हिज्बुल्लाहसँग हिसाब बराबर गरेकोसमेत दाबी गरेकोे बीबीसीले जनाएको छ । नसरल्लाह अनगिन्ती इजरायली र कयौँ विदेशी नागरिकको मृत्युका लागि जिम्मेवार रहेको भन्दै नेतन्याहूले उनको मृत्यु नै ठूलो उपलब्धि रहेको दाबी गरे। साथै हिज्बुल्लाहमाथिको आक्रमण जारी रहनेसमेत इजरायलले जनाएको छ ।
यता इजरायलको आक्रमणमा हिज्बुल्लाह समूहका नेता मारिएपछि लेबनानी सेना सडकमा निस्किएको छ । सत्ताबाहिर रहेको हिज्बुल्लाह समूहका नेता मारिएपछि देशमा शिया र सुन्नी समुदायबीच द्वन्द्वको खतरा बढेको भन्दै सेना सडकमा निस्किएको हो ।
अहिले जारी आक्रमणमा लेबनानले कुनै राजनीतिक प्रतिक्रिया दिएको छैन । पछिल्लोपटक भने लेबनानी सेना हतियारसहित सडकमा परिचालित भएको र केही स्थानबाट जोर्डनतर्फको सीमा क्षेत्रमा रकेट प्रहार गरेको समाचारमा जनाइएको छ ।