काठमाडौं । रसियन कम्युनिस्ट पार्टी (सीपीसीआर) को प्रतिनिधि मण्डल नेकपा (एकीकृत समाजवादी) पार्टीको विदेश विभागको निमन्त्रणामा साताव्यापी भ्रमणको क्रममा काठमाडौं आइपुगेको छ ।

रसियन कम्युनिस्ट पार्टी (सीपीसीआर) का अध्यक्ष तथा साइबेरिया क्षेत्रीय संसद् सदस्य सर्गेई मालिन्कोबिचको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधि मण्डलले नेकपा (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल लगायतका शीर्ष नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको पार्टी विदेश विभाग सचिव डा. शङ्कर खतिवडाले बताए ।

प्रतिनिधि मण्डलले अन्य कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । उक्त प्रतिनिधि मण्डल मङ्सिर १ गते नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालयमा विदेश विभागले आयोजना गर्ने अक्टोबर क्रान्तिका सन्दर्भमा आयोजित एक दिवसीय गोष्ठीमा पनि सहभागी हुने खतिवडाले जानकारी दिए । भ्रमणका क्रममा प्रतिनिधि मण्डलले काठमाडौं उपत्यकामा रहेका विभिन्न धार्मिक तथा सांस्कृतिक महत्त्वका पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्ने बताएको छ ।

प्रतिनिधि मण्डलले पर्यटकीय नगरी पोखराको दुई दिने भ्रमण गर्नेछ । पोखरा भ्रमणका क्रममा प्रतिनिधि मण्डलले कम्युनिस्ट पार्टीका स्थानीय नेताहरूसँग भेटघाट गर्ने र मङ्सिर ५ गते मस्को फर्कने जनाएको छ ।