क्रेमलिन । अमेरिकाले उपलब्ध गराएको लामो दूरीको क्षेप्यास्त्र रुसी भू-भागमा प्रयोग गर्न बाइडेन प्रशासनले युक्रेनलाई अनुमति दिएर आगोमा घ्यू थपिरहेको रुसले भनेको छ । अमेरिकी क्षेप्यास्त्र प्रयोग गरेर युक्रेनले आफूमाथि हमला गरेमा यो हमला युक्रेनले नभएर अमेरिका आफैँले गरेको रूपमा हेरिने मस्कोले चेतावनी दिएको हो ।

रुसले यो विषयमा यसअघि नै आफ्नो धारणा स्पष्ट पारिसकेको थियो । अमेरिकी निर्णयले रुस-युक्रेन युद्धमा अमेरिकाको नयाँ स्तरमा संलग्नतातर्फ सङ्केत गरेको पनि रुसले प्रतिक्रिया दिएको छ ।

बाहिरिँदै गरेको बाइडेन प्रशासनले आगोमा घ्यू थप्न खोजेको र युद्ध थप भड्काउन खोजेको विज्ञप्तिमा भनिएको थियो । यस कदमले तनावको नयाँ चक्र सुरु हुने चेतावनी समेत मस्कोले दिएको छ ।