एजेन्सी । इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लेबनानमा युद्धविराम गर्ने प्रस्तावलाई मंगलबार राति इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले पारित गरेको हो । इजरायलले स्थानीय समयअनुसार बुधबार बिहान ४ बजेदेखि युद्धविराम लागू हुने बताएको छ ।

योसँगै दुई महिनादेखि भएको इजरायल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ । युद्धविराम हुनु केही समयअघि मंगलबार लेबनानको राजधानी बेरुतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी भएको छ । उक्त बमबारी युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ठानिएको सीएनएनले जनाएको छ ।

आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । यसअघि सोमबार पनि ५५ जनाको मृत्यु भएको थियो । इसरायल र हिजबुल्लाहबीच दुई महिनादेखि जारी युद्धमा लेबनानमा हजारौँले ज्यान गुमाइसकेका छन् ।