काठमाडौं । अनलाइन सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पाँचथर मिक्लाजुङ गाउँपालिका-७ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-४ अफलटोल बस्ने ३७ वर्षीय सुनिल राईलाई पक्राउ गरिएको हो ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए । उनले बेटिङ गेम खेलाउने, क्रिप्टोको कारोबार गर्ने गरेको आरोप छ । प्रहरीले उनको ७५ वटा बैंक, १२८ वटा इसेवा वालेट र बाइनेन्स आइडीको अनुसन्धान गर्दा ५५ करोड २० लाख ८४ हजार ७१ रूपैयाँ बराबरको कारोबार गरेको देखिएको एसपी आचार्यले बताए ।

उनीको साथबाट प्रहरीले सिम कार्ड, राउटर, ११ वटा नागरिकता, १५ वटा राहदानी, २२ बुक चेक, ४२ वटा एटिएम कार्ड र एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । उनीमाथि प्रहरीले मुलुकी अपराध संहित २०७४को परिच्छेद ५ को दफा १२५ अनुसार जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र दफा २६२ (क) १ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान हुने भएको छ ।