काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापतिको जिम्मा डोलप्रसाद अर्याल अर्याललाई दिएको छ । उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।

उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय सचिवालय बैठकले गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बताए । झाका अनुसार उनलाई पार्टी सभापति लामिछानेको सिफारिसमा सचिवालय बैठकले कार्यवाहक सभापति तोकेको हो ।

रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ । उपसभापति अर्यालभन्दा अर्का उपसभापति स्वर्णिम वाग्ले ज्येष्ठ हुन् । यद्यपि सभापति लामिछानेले अर्याललाई नै कार्यवाहक तोक्ने सिफारिस गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको थियो । यही अभियोगमा सभापति लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।

लामिछाने हिरासतमा रहँदा रास्वपाले कार्यवाहक सभापतिको जिम्मेवारी कसैलाई पनि तोकेको थिएन । तर केन्द्रीय समिति बैठकहरू भने उपसभापति अर्यालकै अध्यक्षतामा बस्ने गरेको थियो ।