काठमाडौं । इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ । तीन जना न्यायाधीशलाई लक्षित गरी तेहराइनमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्थानीय समय अनुसार बिहान १० बजेर ४५ मिनेटमा आक्रमण भएको हो । न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ । तेस्रो न्यायाधीश पनि घाइते भएका छन् र उनको उपचार भइरहेको छ ।
न्यायाधीशलाई गोली हानेपछि आक्रमणकारीले आत्महत्या गरेको बताइएको छ । अधिकारीहरूले आक्रमणको उद्देश्यको बारेमा थप विवरणहरू जारी गर्न बाँकी रहेको छ ।
रेजिनीको सन् १९९८ मा पनि हत्याको प्रयास भएको थियो । हमलाकारीले उनको गाडीमा चुम्बकीय बम जोड्दा सो आक्रमणमा उनी घाइते भएका थिए ।