काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायले नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन मनाइने सांस्कृतिक पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते तीन दिन सार्वजनिक बिदा दिने पालिकाले निर्णय गरेको हो ।
मञ्जुश्री संवत् २८६१ डुल ल्हो (सर्प वर्ष) सोनाम ल्होछारको अवसरमा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आइतबार एक शुभकामना सन्देश जारी गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ । तीन दिनसम्म गाउँपालिकाभित्रका सार्वजनिक र सरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था बन्द रहने अध्यक्ष मल्लले बताए ।
पालिकामा तामाङ बाहुल्य रहेकाले पर्व खुसियालीपूवर्क मनाउन तीन दिन बिदा दिएको उनले विज्ञप्ति मार्फत जानकारी दिए ।