काठमाडौं । आजदेखि तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार २८६१ शुरु भएको छ । बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ ।
मञ्जुश्री पात्रो अनुसार सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ । सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् । ल्हो अर्थ वर्ग/वर्ष हो भने छारको नयाँ हुन्छ ।
सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिनसम्म मनाउने गरिएको छ । ल्होछारमा विभिन्न गुम्बा, घर-घरमा पूजा गरी घरलगायत सार्वजनिक स्थानमा दर्ज्यु गाड्ने, छो प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र भेटघाट र सामूहिक भोज तथा साँस्कृतिक कार्यक्रम गर्ने चलन छ ।
काठमाडौंको टुँडिखेल, बौद्ध, स्वयम्भुलगायत तामाङ समुदाय रहेका स्थानमा आज विभिन्न कार्यक्रमका साथ ल्होछार मनाउदैछ । सोनाम ल्होसार मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।