काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्का दुवै सदन — प्रतिनिधि सभा र राष्ट्रिय सभा — को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन्। राष्ट्रपति पौडेलले दिउँसो ३ बजे संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

मन्त्रिपरिषद् बैठकले केही मन्त्रीहरू, सचिवहरू र आयोगका प्रतिनिधिहरूको विदेश भ्रमणसमेत स्वीकृत गरेको छ। सञ्चार मन्त्री गुरुङका अनुसार स्वीकृत भ्रमण कार्यक्रमलाई आवश्यक प्रक्रिया पूरा गरेर अघि बढाइनेछ। यद्यपि, भ्रमणका विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

बैठकमा हाल जारी रहेको शिक्षक आन्दोलनसम्बन्धी विषयमा भने कुनै निर्णय नभएको सञ्चार मन्त्री गुरुङले स्पष्ट पारे। शिक्षक आन्दोलनको विषयमा सरकारले आवश्यक छलफल जारी राखिरहेको उनले बताएका छन्। सरकारले आन्दोलनलाई समेट्ने र समाधान निकाल्ने दिशामा प्रयास गरिरहेको संकेत उनले दिएका छन्।