काठमाडौं । नेकपका महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालय काठमाडौंमा पुगेर विप्लवले सोमबार नाम दर्ता गराएको नेकपाका प्रचार विभाग इन्चार्ज अनिश शर्माले जानकारी दिए ।

शर्माका अनुसार नेकपाका अन्य नेता तथा कार्यकर्ताले पनि नाम दर्ता गराउने क्रम जारी छ । नेकपाले आगामी निर्वाचनमा भाग लिने र निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय यसअघि नै गरिसकेको छ । दल दर्ताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । पार्टीको विधान, नियमावली र घोषणापत्र तयार भइसकेको नेकपाले जनाएको छ ।

नेकपाको आगामी बैठकले विधान, नियमावली, घोषणापत्र र केन्द्रीय कमिटीलाई अन्तिम रूप दिएर आयोगमा दल दर्ता गर्ने तयारी छ ।