काठमाडौं — सत्ता बाहिरिएपछि वर्ग समुदाय र जनस्तरसँग सम्बन्ध सुदृढ पार्ने रणनीतिमा अघि बढेको नेकपा माओवादी केन्द्रले आगामी २०८४ को आम निर्वाचनलाई लक्षित गर्दै पूर्वी नेपालमा आफ्नो राजनीतिक उपस्थिति सशक्त बनाउने अभियान तीव्र बनाएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा हालसम्म कोशी प्रदेश लगायतका पूर्वी जिल्लाहरूमा १५ पटकभन्दा बढी कार्यक्रम सञ्चालन गरिएको छ। पछिल्लो समय माओवादी केन्द्रले पूर्व–पश्चिम हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान चलाउँदै वर्ग, समुदाय, सहिद परिवार, बेपत्ता तथा पीडित जनसमुदायसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको छ।

२०६४ को निर्वाचनमा पूर्वी क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको माओवादी केन्द्रले त्यसपछिका निर्वाचनहरूमा जनतासँगको सम्बन्ध कमजोर बनाउँदै सत्ता केन्द्रित राजनीति गरेपछि निरन्तर घाटा व्यहोर्नुपरेको थियो। २०७०, २०७४ र २०७९ का निर्वाचनमा क्रमशः सिट संख्यामा गिरावट आएको र संगठन कमजोर बन्दै गएको माओवादी नेताहरूको आत्मस्वीकृति देखिन्छ। माओवादीका उपमहासचिव तथा कोशी इन्चार्ज हरिबोल गजुरेलका अनुसार, विचारभन्दा सत्तामा केन्द्रित हुँदा वर्गीय आन्दोलन कमजोर भयो र पार्टीको जनाधार खस्कियो। अहिले माओवादी त्यही सम्बन्ध पुनःस्थापित गर्न जाँगरिलो देखिन्छ।

स्थानीय तह तथा विद्यार्थी युनियनको निर्वाचनमा देखिएको सुधारले माओवादीलाई थप मनोबल दिएको छ। ग्रामथान गाउँपालिकामा अध्यक्षसहित दुई वडाध्यक्ष जित्नु र महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीको विजय माओवादीको वर्गीय मुद्दा पुनः प्रभावी बन्न थालेको संकेत मानिएको छ। माओवादी नेताहरूले आफ्ना विगतका गल्तीहरू नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै संगठनलाई जनतामाझ पु-याउने कामलाई प्राथमिकता दिएका छन्। साथै, पहिचान, संघीयता र वर्गीय मुद्दालाई पुनः जीवित पार्ने प्रयाससहित संविधान निर्माणको अधुरा कार्यसूची पूरा गर्न माओवादी सक्रिय देखिन्छ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ–४ र भोजपुर–१ बाहेक अन्य क्षेत्रमा कमजोर नतिजा व्यहोरेको माओवादी केन्द्रले अबको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने रणनीति अख्तियार गर्दैछ। कोशी प्रदेशका पहाडी, तराई तथा आदिवासी जनजाति बहुल क्षेत्रलाई फोकस गरी पूर्वी नेपालमा पुनः शक्तिशाली संगठन निर्माण गर्ने योजना अघि बढाइएको छ। वर्गीय सचेतना, संगठन विस्तार र जनताको सरोकारमा केन्द्रित जनजागरणमार्फत माओवादी २०८४ को निर्वाचनमा पुनः सशक्त शक्ति बन्ने दाबी गर्दै अघि बढिरहेको छ।