काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा कार्यरत न्यायाधीश डा.खुशीप्रसाद थारुमाथि इजलासमै मोसो दल्ने तीन जनालाई पक्राउ गरेका छन्।

पक्राउ पर्नेहरूमा नेकपा बहुमतका केन्द्रीय सदस्य प्यूठानको गौमुखमी गाउँपालिका-६ घर भई हाल ललितपुरको कुपण्डोल बस्ने ३८ वर्षिय किशोर कुँवर (अविनाश), बहुमत पार्टीका सर्लाही इन्चार्ज सर्लाही हरहथवा नरपालिका-२ घर भएका ४३ वर्षीय पदमबहादुर मगर तथा सिराहा जिल्ला कमिटी सदस्य सिराहाको गोलबजार घर भएका ४८ वर्षिय गर्भु महतो रहेको जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी किशोर लम्सालले बताए ।

उनीहरुले बिहीबार दिउँसो इजलासमै पसेर मोसो प्रहार गरेर जनकारबाही गरेको घोषणा गरेका थिए। न्यायाधीश थारूसहितको इजलासले गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला गरेको थियो । सोही फैसलाको विरोधमा यसरी इजलासभित्रै न्यायाधीशमाथि दुव्र्यवहार भएको हो ।