एजेन्सी । तेहरानमाथि इजरायली आक्रमणपछि शुक्रबार राति इरानले इसराइलमाथि ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। यस आक्रमणमा इसराइलको रमत गान क्षेत्रमा एक महिलाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

इरानी मिसाइलका टुक्रा घरमा खस्दा महिलाको मृत्यु भएको हो। राजधानी तेल अभिभ र जेरूसलेममा ठूलो क्षति भएको जनाइएको छ। केही अपार्टमेन्ट र भवनहरूमा क्षति पुग्दा मानिसहरू भित्रै अड्किएका छन्।

इसराइली सेनाले अधिकांश मिसाइल एयर डिफेन्स प्रणालीबाट निष्क्रिय गरेको जनाएको छ। यद्यपि, भवनहरूमा क्षति पुगेको र ३४ जना घाइते भएको, तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसअघि इजरायली आक्रमणमा इरानको नतान्ज आणविक केन्द्रमा क्षति पुगेको थियो। इरानी अधिकारीहरूका अनुसार, हमलामा कम्तीमा ८० जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन्।

इसराइलले करिब २०० लडाकु विमान प्रयोग गरेर इरानका सैन्य संरचनामाथि भीषण आक्रमण गरेको बताइएको छ। इजरायली प्रधानमन्त्री नेतन्याहूले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा ध्वस्त नभएसम्म कारबाही जारी रहने बताएका छन्।