काठमाडौं । इजरायली हवाई आक्रमणहरूका कारण इरानको केही भुईंमाथिका आणविक अनुसन्धान केन्द्रहरू र पूर्वाधारमा क्षति पुगेको छ। तर, अन्तर्राष्ट्रिय अप्रसार तथा इरानी विषयका विज्ञहरूका अनुसार, इरानले गहिरो भूमिगत संरचनामा राखेका हजारौं सेंट्रिफ्युजहरू र हतियार-स्तर नजिकको युरेनियम प्रशोधनका लागि भण्डारण गरिएको सयौं पाउन्ड यूरेनियम भने सुरक्षित रहेका छन्।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणपछि राष्ट्रलाई सम्बोधन गर्दै भने, “हामीले इरानको युरेनियम प्रशोधन कार्यक्रमको मुटुमा प्रहार गरेका छौं।” नेतान्याहूका अनुसार इरानी आणविक कार्यक्रम इजरायलको अस्तित्वमा नै खतरा बनेको छ र यसलाई नष्ट गर्नु अपरिहार्य भएको हो।
तर हालसम्म प्राप्त अन्तर्राष्ट्रिय रिपोर्ट, दुबै देशका आधिकारिक वक्तव्यहरू, र उपग्रहबाट प्राप्त दृश्य सामाग्रीहरूका आधारमा विज्ञहरूले आक्रमणले ठूलो मात्रामा नोक्सान गरे पनि इरानको मुख्य यूरेनियम प्रशोधन प्रणालीमा ‘अपरिवर्तनीय क्षति’ भने नपुगेको बताएका छन्।
उक्त आक्रमणहरूमा प्रयोग भएका बम र मिसाइलहरूले भुईंमाथिका प्रयोगशाला, भण्डारण र प्रशोधन स्थलहरूलाई लक्षित गरे पनि, गहिरो सुरुङभित्र राखिएका प्रमुख सेंट्रिफ्युज प्रणालीहरूसम्म पुग्न नसकेको बताइएको छ।
यस घटनाले इरान-इजरायल तनाव पुनः चुलिएको देखिएको छ र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको प्रभावबारे गम्भीर चासो व्यक्त गरिएको छ।
(अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)

