एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत गरेको छ । बिबिसीका अनुसार आक्रमणको योजना स्वीकृत गरे पनि प्रत्यक्ष सहभागी हुने कि इजरायललाई सहयोग गर्ने भन्ने विषयमा भने निर्णय गर्न बाँकी छ।

अमेरिकी गुप्तचर स्रोत र रक्षा मन्त्रालयका अधिकारीले यसबारे जानकार दिएको उल्लेख गरेको छ। स्रोतका अनुसार ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम अन्त्य गर्ने सन्दर्भमा सम्भावित कूटनीतिक वार्ताको अवसरका लागि हमलाको निर्णय तत्काल नगरेका हुन्।

ट्रम्पले हिजो पत्रकारहरुसँगको कुराकानीमा युद्धमा अवस्था परिवर्तन भइरहने भन्दै आफूले अन्तिम क्षणमै अन्तिम निर्णय लिने गरेको बताएका थिए। इरानले भने दबाबमा वार्ता नगर्ने स्पष्ट गर्दै अमेरिकी आक्रमणको प्रतिउत्तर दिने चेतावनी दिइसकेको छ। अमेरिकी गुप्तचर अधिकारीका अनुसार इरानले अमेरिकी सैन्य अड्डामा आक्रमणको तयारी गरिसकेको छ।

इजरायलले गत शुक्रबारदेखि इरानी सैन्य र आणविक संरचनामाथि आक्रमण गरिरहेको छ। यो आक्रमणमा अमेरिका हालसम्म संलग्न भएको छैन। ट्रम्पले यसअघि इरानलाई विनाशर्त आत्मसर्मपण गर्न चेतावनी दिइसकेका छन्। ट्रम्पले सामाजिक सञ्जाल सोसल ट्रुथमा भनेका छन् ‘हामीलाई इरानी सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीको ठेगाना थाहा छ, तर अहिले नै हत्या गर्ने योजना छैन।’ ट्रम्पको यो भनाइपछि इरानी नेता खामेनीले कडा शब्दमा प्रतिवाद गरेका थिए।