काठमाडौं । इरानको आणविक केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणलाई ‘खतरनाक युद्धको सुरुवात’ भन्दै इरानले कडा आपत्ति जनाएको छ । इरानी परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा सो आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको भनिएको छ ।

“कूटनीतिक प्रयासहरू जारी रहँदा अमेरिकाले त्यसैको खिलापमा हिंसात्मक कदम चाल्नु गम्भीर विश्वासघात हो,” वक्तव्यमा भनिएको छ । इजरायललाई ‘नरसंहारकारी’ र ‘कानुनविहीन’ राष्ट्रको संज्ञा दिँदै इरानले आक्रमणमा उसको भूमिका भएको आशंका पनि व्यक्त गरेको छ ।

इरानले अमेरिकालाई चेतावनी दिँदै भनेको छ, “यस जघन्य आक्रमणको सम्पूर्ण जिम्मेवारी अमेरिकी सरकारले लिनु पर्नेछ । यसको परिणाम गम्भीर र भयानक हुने निश्चित छ ।” मन्त्रालयले थप स्पष्ट पारेको छ, अमेरिकी आक्रमण र त्यसमा संलग्न ‘दुष्ट शासन’ विरुद्ध दृढ प्रतिकार गर्नु इरानको वैधानिक अधिकार हो ।

इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) लाई तत्काल अमेरिकी कार्यको समीक्षा गर्न र आवश्यक कदम चाल्न आग्रह गरेको छ । साथै, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई आकस्मिक बैठक बोलाएर आक्रमणको निन्दा गर्न आह्वान गरिएको छ ।