काठमाडौं । अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको हालको सैन्य आक्रमणप्रति ब्रिक्स समूहले गम्भीर चिन्ता व्यक्त गरेको छ। ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका लगायत हालै सम्मिलित सदस्य राष्ट्रहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघनको रूपमा चित्रित गरिएको छ।

ब्रिक्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामी जुन १३ मा इरानविरुद्ध भएको सैन्य आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौं। यस किसिमको कारवाहीले क्षेत्रीय स्थायित्वमा गम्भीर असर पुर्‍याउँछ र यो अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो।”

समूहले सबै पक्षलाई वार्ता र कूटनीतिक माध्यमबाट मतभेद समाधान गर्न आह्वान गरेको छ।

विशेष कुरा के छ भने, भारतले यसअघि एससीओ (सांघाई सहयोग संगठन) द्वारा जारी इरानप्रतिको समर्थन वक्तव्यबाट आफूलाई अलग राखेको थियो। तर यसपटक भने ब्रिक्सको विज्ञप्तिमा भारत समेत सामेल भएको छ।

इरानको आणविक प्रतिष्ठानमा अमेरिकाले इजरायलसँग मिलेर गरेको आक्रमणपछि मध्यपूर्वमा तनाव चुलिएको छ। यस कदमले वैश्विक सुरक्षा सन्तुलनमा असर पार्ने चेतावनी अन्तर्राष्ट्रिय समुदायबाट आइरहेको छ।

हाल ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका बाहेक साउदी अरेबिया, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि सदस्यका रूपमा सामेल भइसकेका छन्।