काठमाडौं । अमेरिका र रुसबीचको कूटनीतिक तनाव पुनः उत्कर्षमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको नजिकै दुई परमाणु पनडुब्बी तैनाथ गर्ने आदेश दिएका छन्, जसपछि दुई शक्तिराष्ट्रबीच वाकयुद्ध चर्किएको हो।
राष्ट्रपति ट्रम्पले आफ्नो कदमलाई राष्ट्रिय सुरक्षाका लागि आवश्यक भन्दै बचाउ गरेका छन्। उनले भने, “हामीलाई धम्की दिइएको थियो, जुन हामीलाई उचित लागेन। त्यसैले सावधान रहनुपर्यो। म यो मेरो जनताको सुरक्षाका लागि गरिरहेको छु। जब परमाणु शक्तिको कुरा आउँछ, हामी तयार हुनुपर्छ।”
रुसले भने ट्रम्पको कदमलाई हल्का रूपमा लिँदै कडा चेतावनी दिएको छ। रुसी सांसद भिक्टर भोडोलात्स्कीले भने, “विश्वका महासागरहरूमा रुसका परमाणु पनडुब्बीहरूको संख्या अमेरिकाको भन्दा धेरै छ। ती दुई पनडुब्बी पहिलेदेखि नै हाम्रो निसानामा छन्, त्यसैले छुट्टै प्रतिक्रिया दिन आवश्यक छैन।”
यो ताजा तनाव हालै ट्रम्प र रुसी पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभबीचको तिखो वाकयुद्धसँग जोडिएको छ। ट्रम्पले मेदभेदेभलाई ‘असफल पूर्वराष्ट्रपति’ को संज्ञा दिएका थिए, जसको जवाफमा मेदभेदेभले ट्रम्पलाई चेतावनी दिँदै भनेका थिए, “ट्रम्प रुससँग अल्टिमेटमको खेल खेलिरहेका छन्। रुस न त इजरायल हो, न इरान। प्रत्येक नयाँ अल्टिमेटमले युद्धतर्फ एक कदम अघि बढाउँछ।”
विश्लेषकहरूका अनुसार यो कदमले दुई देशबीचको सम्बन्ध अझ जटिल बनाउने देखिन्छ भने विश्वको सुरक्षा वातावरणमा थप तनाव सिर्जना गर्न सक्छ।

