काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन्। साउन १४ गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएपछि, लामा पार्टी भित्रबाट बढ्दो दबाबमा परेका थिए।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए। छलफलमा सहभागी संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार, लामाले दुई सर्तसहित राजीनामा दिने सहमति जनाएका छन्। उनको पहिलो सर्त, १४ साउनमा नियुक्त गरिएका तीन मन्त्रीलाई सपथ गराउनुपर्ने र दोस्रो सर्त, लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने रहेको छ।
लामाले यसअघि गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए। गत बुधवार सपथको तयारी भए पनि सत्ता साझेदार दल नेकपा एमालेको असहमतिको कारण प्रक्रिया रोकिएको थियो। त्यसपछिको बिहीबार सपथ तय भए पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आकस्मिक बिरामी परेर काठमाडौं गएका कारण सपथ सम्पन्न हुन सकेको थिएन।
आज बिहान हेटौंडा पुगेर मुख्यमन्त्री लामाले प्रदेश प्रमुखसमक्ष औपचारिक रूपमा राजीनामा बुझाउने कार्यक्रम तय भएको छ।

