काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ लाई अतिवादी प्रवृत्तिको भएको आरोप लगाएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार जारी स्थायी समिति बैठकमा बोल्दै पुनले अतिवादी प्रवृत्तिले माओवादी केन्द्रलाई आन्तरिक समस्यामा पारेको दाबी गरे।
“हिजो विप्लव थिए, आज फेरि त्यही प्रवृत्ति देखिँदैछ,” पुनले भने, “अध्यक्षको भनाइ खारेज गर्ने प्रवृत्ति आपत्तिजनक छ। तपाईंले अध्यक्षको भनाइलाई खारेज गर्नुभयो, म तपाईँको यही प्रवृत्तिलाई खारेज गर्छु।”
उनले जनयुद्धकालीन जनार्दन शर्मा र अहिलेको बीचमा ठूलो अन्तर आएको टिप्पणी गरे। “जनयुद्धको बेला प्रभाकर पार्टीविरुद्ध जाने प्रवृत्तिको विरोधमा अग्रपंक्तिमा उभिनुहुन्थ्यो,” उनले स्मरण गरे, “तर अहिले त्यस्तो प्रतिरोधी भूमिका देखिएको छैन।”
पुनका अनुसार, माओवादी केन्द्रभित्र देखापरेको समस्याको मुख्य कारण नै अतिवादी प्रवृत्ति हो र यसलाई उनले खारेज गर्ने बताए।

