काठमाडौं । राजधानीमा भइरहेका प्रदर्शन क्रमशः हिंसात्मक बन्दै गएका छन् । मंगलबार बिहानै प्रदर्शनकारी समूहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ललितपुरस्थित निवासमा ढुंगामुढा गर्दै तोडफोड गरेका छन् ।

प्रदर्शनकारीले प्रचण्ड निवास नजिकै रहेको प्रहरी बिटमा समेत आगजनी गरेका थिए । गेट अगाडि उभिएर निरन्तर ढुंगामुढा गर्ने समूहलाई नियन्त्रणमा लिन प्रहरीले प्रयास गरे पनि परिस्थिति नियन्त्रणमा आउन सकेको छैन ।

यसअघि ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत प्रदर्शनकारीले आगजनी गरेका थिए । हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आज बिहानै आगजनी भएको पुष्टि भएको छ ।

नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीका अनुसार बिहानैदेखि ललितपुर अशान्त बनेको छ । “प्रदर्शनको प्रभाव गाउँसम्म पुगेको छ । भित्री सडक तथा गाउँहरुमा पनि बन्दको स्थिति छ,” उनले बताए ।

लगातार तोडफोड र आगजनीका घटनापछि ललितपुरमा त्रास फैलिएको छ भने सुरक्षाकर्मीलाई व्यापक परिचालन गरिएको छ ।