काठमाडौं । सोमबारको हिंसात्मक घटनापछि सुरु भएको जेनजी आन्दोलन देशव्यापी रूपमा फैलिएको छ। राजधानीसहित देशका प्रमुख सहरहरूमा प्रदर्शनकारीले सडक अवरुद्ध गर्दै टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्।
प्रदर्सनहरूले प्रमुख नेताका निवास र सरकारी कार्यालयलाई निशाना बनाएका छन्। प्रदर्शनकारीहरुले खुमलटारस्थित प्रचण्ड निवासमा तोडफोड गरेको छ भने संचारमन्त्री पृथ्वी सुब्बा गुरुङको निवासमा समेत तोडफोड र आगजनी गरेको छ। काठमाडौंको पुल्चोक, मल्लपाटी र नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारीले टायर बालेर धुँवा निकाल्दै सडकमा लामबद्ध भएका देखिएका छन्। केही स्थानमा तोडफोड र आगजनीका घटना पनि भएको स्थानीयहरूले बताएका छन्।
पोखरा, विराटनगर र नेपालगञ्जमा समेत प्रदर्शनकारीहरू चोक–चोकमा जमेका छन्। स्थानीय बजार र सडकमा अत्यधिक तनाव फैलिएको छ। प्रदर्शनकारीहरूले “हाम्रो आवाज सुन्ने समय आयो” र “न्याय बिना शान्ति सम्भव छैन” जस्ता नारा लगाउँदै सरकारको आलोचना गरिरहेका छन्।
सुरक्षा बलहरूले स्थिति नियन्त्रणमा राख्न व्यापक पेट्रोलिङ गरेका छन्। काठमाडौं उपत्यकामा केही स्थानमा पानीको हौवा र आंसू ग्यासको प्रयोग गरिएको छ।
गृहमन्त्रालयले मृतक र घाइतेको संख्या बारे अनुसन्धान सुरु भएको र प्रदर्शनकारीलाई संयमित रहन आग्रह गरेको छ। तर आन्दोलनकारीहरूले भने “सरकारले न्याय दिन नसकेसम्म सडक खाली नहुने” चेतावनी दिएका छन्।
विशेषज्ञहरूले यो आन्दोलनलाई देशभर राजनीतिक असन्तोषको संकेतको रूपमा व्याख्या गरेका छन्। “यो आन्दोलनले युवाहरूको राजनीतिक सक्रियता देखाएको छ र आगामी दिनमा यसको प्रभाव अझ व्यापक हुन सक्छ,” विश्लेषक हरिश पोखरेलले बताए।

