काठमाडौँ । जेनजी आन्दोलनका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले आन्दोलनलाई बदनाम बनाउन र असफल पार्न केही तत्त्वहरू सक्रिय रहेको दाबी गर्दै गम्भीर चेतावनी दिएका छन्। उनले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा आन्दोलनकै नाममा लुटपाट, तोडफोड तथा सार्वजनिक सम्पत्ति नष्ट गर्ने गतिविधि देखिएको जानकारी दिँदै जेनजीले यस्ता कार्यलाई कुनै हालतमा स्वीकार नगर्ने स्पष्ट पारेका छन्।

यादवले आन्दोलन शान्तिपूर्ण उद्देश्यका साथ अघि बढाइरहेको उल्लेख गर्दै जनताको आस्था र समर्थनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताए। उनले भने, “हामी अहिले हाम्रो लक्ष्य, नयाँ नेपाल निर्माणको नजिक पुगेका छौँ। तर, केही तत्त्वहरूले आन्दोलनको नाममा अराजक गतिविधि बढाएर असफल बनाउन खोजिरहेका छन् भन्ने बुझिन आएको छ।”

विज्ञप्तिमा यादवले आन्दोलनलाई शान्तिपूर्ण र अनुशासित ढङ्गले अघि बढाउन सबैलाई आह्वान गर्दै जनतालाई सचेत रहन आग्रह गरेका छन्। साथै उनले भोलि बुधवारदेखि सम्बन्धित निकाय र सरोकारवालाहरूसँग वार्ताको चरणमा प्रवेश गर्ने जानकारी दिँदै, वार्ताबाट सकारात्मक निष्कर्ष आउने विश्वास व्यक्त गरेका छन्।

 यसरी आन्दोलनलाई शान्तिपूर्ण बाटोबाट परिणाममुखी बनाउन संयोजक यादवले जिम्मेवार पक्षहरूलाई सहयोग र निष्पक्षताको आग्रह गरेका छन्।

May be an image of text