काठमाडौं । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाहीलाई प्रहरीले पक्राउ गरी उनको साथबाट प्रहरी सहायक निरीक्षक (असई) को परिचयपत्र बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, शाहीलाई असोज २९ गते पक्राउ गरिएको हो। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ निवासी २६ वर्षीय शाही ठगी र बैंकिङ कसूरका फरार अभियुक्त समेत रहेका छन्।
प्रहरीका अनुसार, शाहीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयसम्म पुगेर “ज्ञापनपत्र” दिने बहानामा त्यहाँका उच्च अधिकारीहरूलाई धम्क्याएका थिए।
उनले कोरिया पठाउने बहानामा ६ जनाबाट पासपोर्ट लिएको भेटिएको छ। रामेछापको सुनापति गाउँपालिका–२ का तीन जना सहितका युवाहरूलाई उनले कोरिया पठाउने भन्दै चेक लिएका थिए।
शाहीले आफूलाई रेडस्टार मिडियाको पत्रकार बनाएर कोरिया पठाउने भन्दै प्रतिव्यक्ति १२ लाख रुपैयाँ लिएको पीडितहरूले बताएका छन्। ती चेकहरू बाउन्स भएपछि पीडितहरूले काठमाडौँ प्रहरीमा उजुरी दिएका छन्।
त्यसैगरी उनले जापान पठाउने बहानामा समेत रकम ठगी गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।
जेनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री बनेको समयमा शाही शीलत निवासमा आयोजित शपथग्रहण समारोहमा सहभागी भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। सरकार विस्तारपछि उनले संवैधानिक निकाय र उच्च पदस्थ सरकारी अधिकारीहरूलाई धम्क्याउन थालेको बताइएको छ।

