काठमाडौं । जेनजी प्रदर्शनको क्रममा पेस्तोल बोकेर सहभागी भएको समूहबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । उक्त समूहका सदस्यहरूले ‘टिओबी (T.O.B)’ लेखिएको टिसर्ट लगाएका थिए । नेपाली सेनाले पनि सो समूहलाई आफ्नो नोटिसमा रहेको जनाएको छ ।
शुक्रबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले भने, “त्यसलाई हामीले नोटिसमा लिएका छौँ । अन्य सूचना भए हामीलाई उपलब्ध गराइदिनुहोस् ।”
प्रहरी स्रोतका अनुसार, सो समूहका अगुवा तेन्जिङ दावा लामा असोज २६ गते पक्राउ परेका छन् । उनका नागरिकता विवरणबारे पनि अनुसन्धान भइरहेको छ ।
तेन्जिङ समूहका सदस्यहरू बुलेट बाइकमा यात्रा गर्दै भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा सहभागी भएका दृश्यहरू फुजेट भिडियोमा देखिएका छन् । ती सबै व्यक्तिहरूको ज्याकेटमा ‘T.O.B’ (Tibetan Original Blood) लेखिएको थियो ।
पेस्तोल कम्मरमा भिरेको भिडियो सार्वजनिक भएपछि ‘फ्रि–तिब्बत समर्थक समूह’ को घुसपैठ भएको भन्दै सामाजिक सञ्जालमा आलोचना बढेको छ ।
प्रहरीले अहिले सो समूहको पृष्ठभूमि, आर्थिक स्रोत र सम्भावित बाह्य सम्पर्कबारे अनुसन्धान तीव्र पारेको जनाएको छ ।

