काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चामा विचलन आएको बताएको छ । सोमबार जनकपुरमा भएको जनता समाजवादी पार्टी जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उनले यस्तो बताएको हो ।
विप्लवले नेपालमा समाजवादी मोर्चाको आवश्यकतालाई देखेर मोर्चा बने पनि पछिल्लो समय विचलन आएको र व्यवस्थित रूपमा लग्नको लागि छलफल जारी रहेको पनि बताए । उनले नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता रहेको भन्दै मोर्चालाई निरन्तरता दिन आवश्यक रहेको समेत्वउल्लेख गरे । विश्वमा पुँजीवादले ठुलो युद्धको षडयन्त्र गरिरहेको उनले बताए ।
विश्व बजार, पैसा, अर्थतन्त्रको सङ्कटलाई बहाना बनाएर युद्धद्वारा श्रमिक जनतामाथि खेलबाड हुने काम भइरहेको भन्दै यस्तो कार्यले संसारलाई तेस्रो विश्व युद्धतिर लगिरहेको विप्लवको भनाइ रहेको थियो । ठुलो परिवर्तनपछि पनि नेपालमा जनताले न्याय नपाएको उनले बताए ।
नेपालमा श्रमिक जनता सचेत भएर अग्रगामी निकासको पक्षमा एकताबद्ध नभए ठुलो षड्यन्त्र हुने विप्लवले तर्क गरे । समाजवाद नेपालको लागि मात्रै नभएर आजको विश्वको आवश्यकता भएको उनले औल्याए ।
