जितका लागि पाएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । पाकिस्तानका लागि मोहम्मद रिजवान र कप्तान बाबर अजमले जितको आधार तयार गरे । दुवैले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरे । ६२ बलमा ६३ रन जोडेको साझेदारी बाबर आउट भएपछि तोडिएको थियो । कप्तान बाबरले ३३ बलमा ३३ रन बनाए । उनले यस क्रममा १ चौका र १ छक्का प्रहार गरे ।
रिजवानले टोलीका लागि सर्वाधिक ५३ रन बनाए । उनले ५३ बलमा २ चौका र १ छक्का प्रहार गरे । एरोन जोनसनको अर्धशतकको मद्दतले क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । लो स्कोरिङ खेलहरु भइरहेको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जोनसनले शानदार ब्याटिङ गर्दै ४४ बलमा ५२ रन जोडे । उनले यसक्रममा ४ चौका र ४ छक्का प्रहार गरे । कलिम सानाले १४ बलमा १३ रन बनाए । कप्तान साद बिन जाफरले २१ बलमा १० रनको योगदान दिए ।
पाकिस्तानका लागि ह्यारिस राउफ र मोहम्मद आमिरले २-२ विकेट लिन सफल भए । शाहिन शाह अफ्रिदी र नसिम शाहले १-१ विकेट हात पारेपछि जित पक्का गर्न सफल भए ।