काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कतार पुगेको छ । बीबीसीका अनुसार गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको नयाँ प्रस्तावलाई सफल बनाउन उनी कतार पुगेको हो ।
अमेरिकाले आफू-समर्थित युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रियाको मूल्यांकन गरिरहेको बताएको छ। हमासले मंगलबार राति यस प्रस्तावको जवाफ दिएको थियो । हमासले यस प्रस्तावमा आफ्नो प्रतिक्रिया सकारात्मक रहेको र इजरायलसँग सम्झौतामा पुग्ने बाटो खुला गरेको बताएको छ । तर यो प्रस्तावमा अझै अन्योल छ । किनभने प्यालेस्टिनी समूह र इजरायलले यो प्रस्ताव सार्वजनिक रूपमा स्वीकार गरेका छैनन् । इजरायल सरकारले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
अमेरिका र इजिप्टसँगै कतारले पनि हमास र इजरायलबीच मध्यस्थता गरिरहेको छ । गाजामा ८ महिनादेखि जारी युद्धमा ठूलो संख्यामा मानिस मारिएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार गाजाका अधिकांश मानिस भोकमरीको जोखिममा छन् । हमासले अक्टोबर ७ मा उत्तरी इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजामा हमासलाई ध्वस्त पार्ने उद्देश्यले सैन्य कारबाही सुरु गरेको थियो, जुन अझै जारी छ।
यो युद्ध अन्त्य गर्न कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा दुई पक्षबीच पटकपटक वार्ता भइसकेका छन्।
#बिबिसीबाट