sharethis sharing button

काठमाडौं । अहिले  कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ भने देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको र बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

अहिले कोशी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती कोशी लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।