जेरुसेलम । गाजामा हमासविरुद्धको युद्धमा मानवताविरोधी अपराध गरेको भेटिएको भन्ने संयुक्त राष्ट्रसंघको अनुसन्धानलाई इजरायलले पक्षपातपूर्ण भन्दै खण्डन गरेको छ ।
गाजा युद्धमा राष्ट्रसंघका विज्ञले गरेको पहिलो गहन अनुसन्धान प्रतिवेदनले इजरायली र प्यालेस्टिनी सशस्त्र समूहले युद्ध अपराध गरेको पत्ता लगाएको छ । इजरायल र प्यालेस्टिनी क्षेत्रमा भएको अन्तर्राष्ट्रिय कानुन उल्लंघनको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्ले सन् २०२१ मेमा अनुसन्धान आयोगको स्थापना गरेको थियो । संयुक्त राष्ट्रसंघको स्वतन्त्र अनुसन्धान आयोगले बुधबार जारी गरेको प्रतिवेदनमा इजरायलले ‘युद्ध अपराध, मानवताविरुद्धको अपराध’ र अन्य अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको जानकारी गराइएको छ ।
प्रतिवेदनमा ‘गाजाका आम-नागरिकविरुद्ध इजरायलले व्यापक र निर्देशित आक्रमण गरेको उल्लेख गरिएको छ । इजरायली विदेश मन्त्रालयले आयोगको अनुसन्धान प्रतिवेदन पक्षपातपूर्ण र स्पष्ट इजरायलविरोधी एजेन्डाबाट प्रेरित रहेको दाबी गर्नुका साथै इजरायली सेना (आइडिएफ) विरुद्धको झुटा आरोप र मानहानीयुक्त भएको दाबी गरेको छ । आयोगले गत अक्टोबर ७ को आक्रमणमा हमास र अन्य सशस्त्र समूहका सदस्यहरूले हत्या, हताहत, दुर्व्यवहार, बन्धक र यौनिक तथा लैंगिक हिंसाजस्ता अपराध गरेको पुष्टि गरेको छ।
‘हमास र प्यालेस्टिनी सशस्त्र समूहहरूले तुरुन्तै हवाई आक्रमण बन्द गर्नुपर्छ र सबै बन्धकलाई रिहा गर्नुपर्छ,’ संयुक्त राष्ट्रसंघका पूर्वअधिकार प्रमुख र अन्तर्राष्ट्रिय फौजदारी अदालतका पूर्वन्यायाधीश नाभी पिल्लेले भने। हमासले संयुक्त राष्ट्रसंघको उक्त प्रतिवेदनमा हालसम्म कुनै टिप्पणी गरेको छैन।