काठमाडौंको माईतिघर मण्डलाबाट सुरु भएको र्याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । हजारौंको सहभागितामा निकालिएको सो र्यालीमा सहभागिहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बिरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।
‘बालेन चोर, कुर्सी छोड’, ‘हामी यहाँ छौं, बालेन तिमि कहाँ छौं’, ‘कबाड व्यवसायीलाई सुरक्षा दे’ लगायतका नारा प्रदर्शनकारीहरुले लगाएका छन् । प्रदर्शनमा ‘छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर’ जस्ता नाराहरु आन्दोलनकारीले लगाएका छन् । काठमाडौं महानगरपालिकाले अदालतको आदेश विपरित तोडफोडमा उत्रिएपछि कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि बाध्य भएर आन्दोलनमा उत्रिएको कबाड व्यवसायीका नेता संजय साहले जनाएका छन् ।
पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन ‘बालेन्द’ शाहले कानून तथा अदालतको अन्तरिम आदेश विपरित दुख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको साहले बताए । आफूहरुको माग सम्बोधन नभए माईतिघरमा धर्ना एवं प्रदर्शन मात्रै नभई कबाड व्यवसायीहरुले ४ असारमा काठमाडौं महानगरपालिका समेत घेराउ गर्ने जनाएका छन् ।

