प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दशकयता पहिलोपटक उत्तर कोरियाको भ्रमणमा पुगेको छ । स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे पुटिन प्योङयाङ पुगेको हो ।

विमानस्थलमा पुटिनको स्वागतका लागि रातो कार्पेट बिछ्याइएको थियो भने उत्तर कोरियाली नेता किम जोङ उन आफै उनलाई स्वागत गर्न पुगेका थिए । विमानस्थलबाट दुई नेता एउटै लिमोजिन कारमा कुमसुसान स्टेट गेस्ट हाउसतर्फ लागेका थिए । कोरियाको भ्रमणका क्रममा पुटिन त्यहीँ बस्नेछन् । पुटिनको स्वागतमा प्योङयाङका सडकहरू दुई नेताको तस्बिर, फूल र बेलुनहरूले सजाइएको छ ।

पुटिन २४ वर्षपछि उत्तर कोरिया पुगेका हुन् । गत वर्षको सेप्टेम्बरमा किम रेल चढेर रुस पुगेका थिए । विज्ञहरूले यो भ्रमण युक्रेनसँग युद्धका लागि उत्तर कोरियासँग हतियारको सहयोगमा केन्द्रित रहने बताएका छन् । पुटिन र किम आज विभिन्न बैठकहरूमा सहभागी हुनेछन् भने गाला कन्सर्ट र रिसेप्सनमा सहभागी हुनेछन् । दुई नेताले कम्तीमा ९ घण्टा सँगै बिताउनेछन् ।

रुसी प्रतिनिधि मण्डलमा विदेश मन्त्री सर्गेई लाभरो, प्रथम उपप्रधानमन्त्री डेनिस मान्टुरोभ, उपप्रधानमन्त्री अलेक्सान्डर नोभाक, रक्षा मन्त्री आन्द्रेई बेलुसोभ, स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलगायत छन् ।