काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१२ कपनस्थित सोहिल बाह्रबिसे सुनचाँदी पसलमा लुटेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । जेठ १३ गते राति ११ बजेतिर ४ जनाको समुहले ‘अनुसन्धान विभागबाट आएको सादा पोसाकका प्रहरी हौँ’ भनेर लुटपाट गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भएका हर्के तामाङ भन्ने लोकबहादुर पाख्रिन, ईनकुमार पाख्रिन, लीलबहादुर तामाङ र भाग्यराम पाइनलाई प्रतिवादी बनाएको छ । भाग्यराम बाहेक अरू तिन जना फरार छन् । करिब ५ महिना अघि चिनजान भएका हर्के तामाङले राति फोन गरेर २० हजार तत्काल आवश्यक परेको भन्दै सुन पसल सञ्चालक जयविक्रम विकलाई डेरा बाहिर बोलाएर लुटपाट गरेको हो ।
पीडितको डेरा र पसल खोल्न लगाएर कुटपिट गरी ९ लाख ९१ हजार बराबरको धनमाल लुटेर आरोपीहरू फरार भएको प्रहरी अनुसन्धानको निष्कर्ष रहेको छ ।