काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वसभापति र अध्यक्षहरूले महासंघको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न सुझाव दिएका छन् ।

महासंघको साख र मर्यादा कायम गर्न पूर्वसभापति र अध्यक्षहरू आवश्यक सहजीकरणका गर्न पछि नपर्ने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरेका छन् । नेपाली पत्रकारहरूको साझा र भरोसायोग्य संस्था नेपाल पत्रकार महासंघ भित्र पछिल्लो केहि दिनयताका काम कारबाही र गतिविधिहरु प्रति गम्भीर चिन्ता, चासो र सरोकार उनीहरूले व्यक्त गरेका छन् ।

‘लोकतन्त्रको जगेर्ना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हितमा विभिन्न कालखण्डमा महत्त्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको नेपालको अगुवा नागरिक संस्था समेत रहेको महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयहरूमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुभाग्र्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौँ’ उनीहरूको भनाई छ ।

महासंघका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्नसक्ने हस्तक्षेप र राख्नसक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न महासंघका सदस्यहरुमा उनीहरूले अपिल गरेका छन् ।

सो छलफलमा महासंघको नेतृत्व गरिसकेका वरिष्ठ पत्रकारहरू किशोर नेपाल,  सुरेश आचार्य,  तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँले सहभागी भएका थिए ।