काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी विषयलाई टुंगो लगाउन कार्यदल गठन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा टुंगो लगाउन सहमति भएको हो ।

सो सहमतिपश्चात टीआरसी विधेयकमा सहमति गरेर प्रस्ताव तयार गर्न आइतबार तीन दलबाट एक-एक जना सदस्य रहेको कार्यदल गठन गरिएको हो । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार कार्यदलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेबाट आफू र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।

कार्यदललाई छलफल गरेर टुंग्याउन बाँकी विषयसहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने कार्यादेश दिइएको छ । यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरेर कार्यदलले साझा धारणा बनाउने र बाँकी विषयसहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने छ ।