काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा पठाउने आदेश भएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको हो ।

उनलाई केन्द्रीय कारागार जगनाथ देवलमा राखिने छ । मंगलवार भएको सुनुवाईपछि धरौटीमा रिहा गर्न अस्वीकार गर्दै जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । उनलाई संगठित अपराध, ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ । यी सबै अभियोग जोड्दा २४ वर्ष कैद हुनुपर्ने दाबी अभियोग पत्रमा गरिएको छ ।

अभियोग पत्र दायर हुँदा फरार रहेका उनी शुक्रवार काठमाडौंको बौद्धबाट पक्राउ परेका थिए ।  सोही अभियोगमा उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डे र गृहमन्त्री बादलका तत्कालीन सल्लाहकार इन्द्रजित राई पुर्पक्षका लागि थुनामा रहेका छन् । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण भने उच्च अदालतबाट धरौटीमा छुटेका थिए ।