सो बैठकमा आन्दोलनलाई कसरी लैजाने भन्ने विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रभावकारी भिजन नदिएको एक नेताले बताए । ‘आन्दोलन विषयक बैठक भने तापनि अध्यक्षले आन्दोलनसम्बन्धी कुनै ठोस कुरा गरेनन् । गोलमटोल कुरा मात्र गरे,’ बैठकमा सहभागी एक नेताले भने । यस्तै पछिल्लो समय पार्टीभित्र देखिएको बेमेलको विषयमा समेत अध्यक्षले गुनासो पोखेको ती नेताले बताए ।
पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले राप्रपा आन्दोलन गर्न जन्मिएको पार्टी भएकोले आन्दोलनको विकल्प नभएको बताए । त्यस्तै, निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द लोहनीले अरू दल असफल भइसकेको अवस्थामा राप्रपालाई आन्दोलनबाटै स्थापित गराउनुपर्ने बताए । कार्य सम्पादन समितिको निर्णयबमोजिम आन्दोलन परिचालन समितिले आन्दोलनको कार्यक्रम कार्यान्वयन गर्न थालिसकेको बेलामा समानान्तर रूपमा बाधा अवरोध नगर्न आन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका महामन्त्री धवलशम्शेर राणाले अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गरे ।
लिङ्देन संयोजक रहेका मूल आन्दोलन समितिमा सबै केन्द्रीय सदस्य छन् भने आन्दोलन परिचालन समितिका संयोजक महामन्त्री राणा छन् । आन्दोलनको कार्यक्रम बनाउने र कार्यान्वयन गर्ने सम्पूर्ण जिम्मेवारी केन्द्रीय समितिले परिचालन समितिलाई सुम्पिएको छ ।
